म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइँठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इको भ्यान आज कालीगण्डकी नदी किनारमा खसेको छ। सिमा प्रहरी चौकी भुरुङ तातोपानीका अनुसार दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको छ।
घाइतेमध्ये रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्दार गरी उपचारका लागि पोखरा अस्पताल पठाइएको छ। नारच्याङस्थित शिव मन्दिरतर्फ जाँदै गरेका यात्रु चढेको भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनाका कारण अन्नपूर्ण–४ नारच्याङमा बुधबारदेखि सुरु हुन लागेको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित गरिएको छ।



तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले दुर्घटनामा स्थानीय व्यक्तिको निधन र अन्य घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
हाल घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



