काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल अपराध नियन्त्रण गर्न कानुनी व्यवस्था सशक्त बनाइने बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै उनले सामाजिक मर्यादाहरू भत्काउने, घृणाको राजनीति फैलाउने तथा परिवारभित्रै अविश्वास सिर्जना गर्ने गतिविधिहरू रोक्न कानुनी कठोरता आवश्यक रहेको बताए।
प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको प्रयोग मानव कल्याणका लागि हुनुपर्नेमा जोड दिँदै अधिकारको दुरुपयोग हुन नदिन कानुनी सुधार गरिने बताए। संविधान कार्यान्वयनको दश वर्ष पूरा हुन लागेको सन्दर्भमा आवश्यक परे संशोधन गरिने उनको भनाइ छ। डिजिटल युगमा अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। प्रविधिको दुरुपयोग रोक्न र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन हामीले एआई तथा अन्य प्रविधिहरूको अधिकतम उपयोग गर्नुपर्छ, प्रधानमन्त्री ओलीले भने।



उनले लोकतन्त्रलाई सुदृढ गर्दै सुशासन र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य स्पष्ट रहेको बताए। साथै, विकासले गति लिएको भए पनि जनताको आर्थिक तथा सामाजिक अधिकारलाई अझ सबल बनाउन थप प्रयास गरिने उल्लेख गरे। प्रधानमन्त्री ओलीले अपराध निवारण र निष्पक्ष न्याय प्रणाली निर्माणका लागि यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरू महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।हामी पूर्ण लोकतन्त्र चाहन्छौं, जसले हरेक नागरिकलाई समान अवसर र अधिकार सुनिश्चित गर्छ, उनले थपे।



