काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाक्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा पछिल्ला राजनीतिक समसायिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपाल नै अध्यादेशको विपक्षमा देखिएपछि सरकार तीन वटा विकल्प अगाडि सार्ने तयारीमा छ । २१ फागुनसम्म सदन स्थगित गरेर पहिले जसपा नेपाललाई सहमतिमा ल्याउने, विपक्षीमा देखिएका सत्तारुढ दलका सांसदलाई राष्ट्रिय सभामा अनुपस्थित गराउने र त्यो सम्भव नभए दल विभाजनको व्यवस्थालाई खुकुलो पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक ल्याउनेसम्मको सरकारको योजना छ ।



अध्यादेश नै पारित नहुने अवस्था आएपछि सरकारले विकल्प खोज्न थालेको छ । अध्यादेशको विषयलाई लिएर सत्ता र विपक्षी दलहरु दिनहुँजसो संसद्मा आरोप प्रत्यारोपमै सिमित छन् ।



