काठमाडौं । राप्रपा, राप्रपा नेपालसहितका संघसंस्थाहरुले पोखराबाट काठमाडौं फर्कदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको धूमधामका साथ स्वागतको तयारी गरेका छन् । पोखरामा एक साता बसाईपछि पूर्वराजा शाह हवाईमार्ग हुँदै आज काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उहाँको स्वागत गर्ने तयारी गरेका छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानुहुने र उहाँलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।

र्यालीमा राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुनेछन् । पूर्वराजा शाहको स्वागतको लागि अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत सडकमा उत्रिने छन् । र्याली काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुनबाट आउने र तिनकुनेमा जम्मा हुने छ । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्याली निकाल्ने तयारी गरेका छन् । शाहको स्वागत र्यालीमा भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।

भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय