नेकपा एमाले र खेताला प्रवृति । यो नयाँ कुरा रहेन । नजिकका वा गुट मिल्नेहरुलाई नेता बनाउने र बाँकीलाई खेताला बनाउने क्रमलाई एमालेले स्थापित गर्दै लगेको छ । यतिबेला विराटनगरमा प्रेस चौतारी नेपालको महाधिवेशन जारी रहँदा यस संगठनको नेतृत्वमा समेत आफ्ना मान्छेलाई टिका लगाइदिने र बाँकीलाई पाखा लगाइदिने रणनीतिलाई जबरजस्त कार्यान्वयन गर्न एमालेको पूरै पार्टीपंक्ति लागिपरेको छ ।
एमाले अर्थात्, नारामा लोकतन्त्र र व्यवहारमा अधिनायकवादी शैलीको अभ्यास गरिरहेको पार्टी हो। विराटनगरमा सुरु भएको प्रेस चौतारी नेपालको महाधिवेशनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सहमतिमा नेतृत्व चयन गर्न उर्दी जारी गर्नुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने र त्यसका लागि निर्वाचनमा जान सकिने व्यवस्थालाई सख्त अस्वीकार गर्दै त्यसो हुन नहुने र हुन नदिने उद्घोष गर्न भ्याउनुभयो । प्रेस चौतारी नेपाल पत्रकारको संस्था भए पनि यो नेकपा एमालेको भ्रातृ संस्थासमेत हो । यसैकारण पार्टी नेतृत्वले सर्वसम्मत्तिका नाममा आफूले चाहेका व्यक्तिलाई अध्यक्षदेखि विभिन्न पदहरुमा टिका लगाएर जिम्मेवारी सुम्पिन चाहन्छ । त्यसैका विरुद्ध उद्घाटन समारोहकै नजिक चौतारीको एउटा समूहले निर्वाचनको पक्षमा हस्ताक्षर अभियान नै चलाएको छ । र यो समूहले भनिरहेको छ, ‘विराटनगर चाँहि पार्टीको ज्यादतिविरुद्ध विद्रोह गर्ने ठाउँ हो ।’ गत फागुनमा सम्पन्न एमाले मोरङको जिल्ला अधिवेशनमा कोशी प्रदेश अध्यक्षमा पराजित भएका विनोद ढकालले छुट्टै प्यानल नै बनाएर अध्यक्ष ओलीपक्ष विरुद्ध चुनाव लडाउनुभएको थियो । त्यतिबेला ढकालले उठाएको अजम्बर राई नेतृत्वको प्यानलले जिल्ला कमिटीमा प्यानलसहित जित हासिल गरेको थियो ।



अहिले नेतृत्वले चरम हस्तक्षेप गरेर निर्वाचन नै हुन नदिनेमा चौतारीकर्मीहरु चिन्तित छन् । त्यसैले निर्वाचनमार्फत् नेतृत्व हासिल गर्न चाहेकाहरु प्रतिनिधिको मतमार्फत् नै नेतृत्व चयन हुन्छ भन्ने सन्देश प्रवाह गरी नेतृत्वलाई दबाब दिने रणनीतिमा देखिन्छन् । कार्यकर्तास्तरबाट नेतृत्वमाथि निरन्तर दबाब बढ्दा पनि नजरअन्दाज हुँदै आएको छ । त्यसैले एमालेमा नेतृत्वविरुद्धको विद्रोह सीमित मात्रामा हुने गरेको छ । किनकी पार्टी नेतृत्वसँग भिड्नु चाँहि भीम रावल हुनु हो । अध्यक्ष केपी शर्मा ओलीको भाषामा ‘भीम रावल’ हुनु भनेको पार्टी नेतृत्वले कुनै पनि नेता कार्यकर्ताको, पद, प्रतिष्ठा र जिम्मेवारी खोसेर खोक्रो बनाइदिनु हो । त्यसैले ओलीले सार्वजनिक कार्यक्रमहरुमै आफ्नाविरुद्ध बोल्नेलाई भीम रावल बनाइदिने चेतावनी दिँदै आउनुभएको छ ।
२०७८ मा चितवनको सौराहमा भएको दशौँ महाधिवेशनबाटै एमालेमा यो अभ्यास जबरजस्त स्थापित भइसकेको छ । सर्वसम्मत्तिका नाममा बलियाहरुले पार्टी कब्जा गर्नु एमालेको संस्कार बनेको छ । सके आन्तरिक प्रतिस्पर्धा नै नगर्ने, गराउनै परे कागजमा सीमित गर्ने दुवै अभ्यास चितवनमा भइसकेको छ । त्यसयता विभिन्न संयोगहरुमा एमालेले यो अभ्यासलाई निरन्तरता दिएको छ । भिड्न आउने अपवादहरुलाई कुनै न कुनै हर्कत गरेर ठेगान लगाउने काम सुनियोजित रुपमा भइरहेको छ । त्यसैको पछिल्लो संस्करण विराटनगरमा जारी प्रेस चौतारीको नयाँ नेतृत्व चयन प्रक्रियामा देखिएको छ । यसले एमालेले आफ्ना संस्थाहरुलाई कसरी पेन्डुलम बनाइरहेको छ, नजिकका कार्यकर्तालाई कसरी नेता बनाइरहेको छ र बाँकीलाई कसरी खेताला बनाइरहेको छ भन्ने कुराको उदाहरण पेश गरेको छ ।



