दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा सांग्रिला प्लाई उद्योग सोमबार जलेर खरानी भयो । आगलागी भएको ३० घण्टासम्म पनि आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकेन । आठवटा दमकल, आधा दर्जन जेसीवी, दुई सय बढी सुरक्षा निकायका जनशक्ति, स्थानीयबासी खटेरै अग्नि नियन्त्रणको प्रयास गरे । बिहान करिब १ बजेको समयमा भएको आगलागीका कारण मेसिनरी औजार, प्लाई बनाउन प्रयोग हुने काठलगायतका कच्चा पदार्थ र बनेका प्लाई तथा उद्योगको भौतिक संरचना जलेर नष्ट भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–९ स्थित गणपति भेनियर तथा प्लाइ उद्योगमा सोमबार बिहान भएको भीषण आगलागीबाट करोडौंको क्षति भएको छ। करिब ८ विघा क्षेत्रफलमा फैलिएको उद्योग पूर्णरूपमा जलेर नष्ट भएको हो। अग्नि नियन्त्रणको पूर्वाधारको अभावले गर्दा आगो निभाउन ३३ घण्टा लागेको छ। उद्योग जस्ता पाताले घेरेर बनाइएको थियो, जसका कारण आगो नियन्त्रणमा लिन थप कठिनाइ भयो।



घोराही उपमहानगरपालिकाको दुई दमकलमध्ये एउटाले मात्रै काम गर्ने अवस्थाले आगो नियन्त्रणमा कठिनाइ भयो। आगो बस्ती फैलन सक्ने सम्भावना भएकाले बाहिरी ठाउँबाट दमकल मगाउनु पर्ने अवस्था आयो । उद्योगमा काठको धुलो, प्लाइवुड तथा विभिन्न प्रकारका केमिकल भण्डारण गरिएका थिए। ती सबैमा आगो सल्किँदा अझ बढी फैलिन पुगेको हो।
डोजरको सहयोगमा जस्ता पाता हटाउँदै आगो निभाउने प्रयास जारी रहेको बताएको छ। उद्योगमा रहेका तयारी प्लाइ, काठका पाता, केमिकल र सबै उपकरण पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
दाङमा पछिल्लो १० वर्षमा आगलागीबाट ९ सय ९८ घरपरिवार प्रभावित भएका छन्। यो आर्थिक वर्षमै नौवटा आगलागीका घटना भइसकेका छन्, जसमा पाँच घर पूर्णरूपमा जलेर नष्ट भएका छन् र ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यसपटकको आगलागीले जिल्लाको अग्नि नियन्त्रण प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।



