काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनु पर्ने भन्दै विपक्षी दलहरूले संसद्मा अवरोध गरेका छन् । कुशल प्रशासकका रुपमा रहेका घिसिङलाई पुरस्कृत गर्नुको साटो उल्टै दण्डित गरिएको भन्दै विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा उठेर विरोध जनाएका हुन् ।
संसद अवरोध गरेसँगै प्रमुख प्रमुख प्रतिपक्षी दलका सांसद माओवादीका शक्ति बस्नेतलाई सभामुखले बोल्न समय दिनुभएको थियो । उहाँले सरकारले प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पन चार महिना पनि कुर्न नसकेको आरोप लगाउनु भयो । बस्नेतले सरकारमा सहभागीहरुले आफैंलाई चार महिना टिक्न सकिने हो वा होइन भन्ने विश्वास नभएपछि हतारमा कुलमानलाई हटाउने निर्णय गरेको उल्लेख गर्नुभयो ।



सांसद बस्नेतले अब यसबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्नुभयो ।



