प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राबीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र सिनावात्राबीचको भेटमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन विविध क्षेत्रहरूमा सहयोगको चर्चा भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरू सहभागी थिए।



दुवै नेताले संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यसैगरी, गैरसरकारी र व्यावसायिक संस्थाबीच ६ वटा सहमतिपत्रको आदानप्रदान गरिएको छ। थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीलाई सिनावात्राले स्वागत गर्दै गार्ड अफ अनर दिएका थिए। यसअघि प्रधानमन्त्री ओलीलाई शाही सम्मानका साथ स्वागत गरिएको थियो।
प्रधानमन्त्री ओली आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने तय भएको छ। साथै, उनले आज आफ्नो सम्मानमा आयोजित दिवभोजमा पनि सहभागिता जनाउनेछन्। यो भ्रमण नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र सांस्कृतिक तथा पर्यटन क्षेत्रको सहकार्यलाई प्रोत्साहन गर्ने अवसर रहेको छ।



