हिमालको काखमा बसेको, शान्त र दिव्य मुक्तिनाथ मन्दिर केवल एक तीर्थस्थल होइन—यो हजारौं वर्षदेखि आस्थाको केन्द्र, मुक्ति र मोक्षको प्रतीक बनेको पवित्र भूमि हो। यस स्थानलाई नचिनेको नेपाली बिरलै भेटिन्छ, र जुनसुकै धर्म र विश्वास भएका मानिसले यहाँ आएपछि आत्मिक शान्तिको अनुभव गर्छन्।
कथा धेरै पुरानो समयको हो—जब मानव अस्तित्वको रहस्य गहिरो थियो, र देवता र मानिसबीचको सम्बन्ध अझै नजिक थियो। मुक्तिनाथ क्षेत्रलाई हिन्दुहरूले भगवान विष्णुको मुक्ति प्रदान गर्ने स्वरूपमा पुज्दछन्, र बौद्ध धर्मावलम्बीहरूले यसलाई चुमिग ग्याछेनू अर्थात एक सय जलस्रोतको घरू को रूपमा पूज्छन्। यही स्थानमा भगवान विष्णुले तपस्यारत अवस्थामा आफ्नो मुक्ति पाएका थिए भन्ने विश्वास गरिन्छ।



एक कथा अनुसार, ब्रह्माले यो स्थानमा एक विशेष यज्ञ गरेका थिए जसले सारा ब्रह्माण्डमा शान्ति ल्याएको थियो। यही यज्ञबाट निस्किएको दिव्य आगो आजसम्म पनि यहाँ बलेको छ—यो प्राकृतिक ग्यासको ज्वाला हो, जसलाई स्थानीयहरू ‘जल्ने धाम’ भनेर चिन्ने गर्छन्। यही आगो हिन्दुहरूको पाँच तत्वहरूमध्ये अग्निको प्रतीक हो भने बौद्ध धर्ममा यो बुद्धको करुणाको प्रतीक मानिन्छ।
मुक्तिनाथ पुग्ने बाटो अब आएर निकै सजिलो भईसको छ। उकालो, ओरालो, हिउँले भरिएका फराकिला बाटाहरू पार गर्दै तीर्थयात्रीहरू यहाँ पुग्छन्। तर जसले एकचोटि मन्दिरको आँगनमा उभिएर १०८ धारा पानीले स्नान गर्छ, उसले आफ्ना सम्पूर्ण पापहरू क्षमा भएको अनुभूति गर्छ। पानीको त्यो चिसो धाराले शरिर त शुद्ध गर्छ नै, आत्मालाई पनि एक किसिमको हल्कोपन दिन्छ—मानौं आत्मा आफैं पनि अब मुक्त भएको हो।
अझ रोचक कुरा के भने, मुक्तिनाथको मन्दिरमा पुजारी दक्षिण भारतको श्रीवैष्णव परम्पराबाट आएका हुन्छन्, र यहाँ हिन्दु र बौद्ध धर्मको अद्भुत समिश्रण पाइन्छ। एउटै थलोमा दुई पवित्र विश्वासहरू यस्तो समर्पणका साथ बसेका छन्—जसले नेपाललाई धार्मिक सहिष्णुताको जीवित प्रतीक बनाउँछ।
आजको दौडधुपको जीवनमा, जहाँ मानिसहरू बाहिरी सुखको खोजीमा आत्मिक शान्ति भुलिरहेका छन्, त्यस्तो अवस्थामा मुक्तिनाथजस्तो स्थानको महत्त्व झनै बढ्छ। यहाँ न केवल शरीर थाकेको विश्राम पाउँछ, आत्मा पनि आफ्नो बाटो फेला पार्न थाल्छ।
शायद यही कारण हो—मानिसहरू हजारौं किलोमिटर टाढाबाट पनि मुक्तिनाथ जान्छन्। किनकि यो तीर्थयात्रा केवल एक धार्मिक भ्रमण मात्र होइन, आत्मा र विश्वासको गहिरो संवाद हो। मुक्तिनाथले हामी सबैलाई सद्बुद्धि दिउन् जय मुक्तिनाथ ।



