काठमाडौं । नेपालमा गणतन्त्र आएको १८ वर्ष भएको छ । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको जनयुद्धको उपलब्धिले देशमा गणतन्त्रको अभ्यास भएको १८ वर्ष पुगेको छ ।

वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको छ ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ ।

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा यो व्यवस्था रहेको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावको सहभागीता रहने छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण देशबासीलाई शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय