काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले कांग्रेस नेता मोहम्मद अफताव आलमसहितलाई सफाइ दिनेगरी भएको फैसलालाई न्यायालयको इतिहासमै कलंक टिप्पणी गर्नुभएको छ ।

‘हिजो जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले जिउँदा मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलमलगायत व्यक्तिहरुलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ ।’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।



उहाँले उक्त फैसला गर्ने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै नविर्सन पनि बनाउनु भएको छ । उहाँले ‘कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीहरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’ श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
त्यस्ता अपराधमा संलग्न व्यक्तिहरु समाजमा ‘निर्दोष’ बन्दै हिड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्नेछ ? उहाँले प्रश्न समेत गर्नुभएको छ । ‘यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारबाही, रूपान्तरण र सुधारको निम्ति ठूलो जनअभियान सञ्चालन गर्नु जरुरी छ,’ उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।



