काठमाडौं । नारायणहिटी दरबार हत्या काण्ड २४औं वर्ष पुरा भएको छ । तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नास हुने गरी नारायणहिटी राजदरबार हत्या काण्ड मच्चाइएको थियो ।
वि.सं २०५८ जेठ १९ गते शुक्रबारका दिन बेलुका नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको दरबार हत्याकाण्डमा मारिएका थिए ।



हत्याकाण्डमा अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएको घोषणा गरेपछि ज्ञानेन्द्रलाई राजा घोषणा गरियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो।
छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई आजका दिनसम्म स्वीकार गरेका छैनन् ।
राजा वीरेन्द्रको २४औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम गरी मनाइँदै छ । उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । वीरेन्द्रको निधनपछि राजगद्दीमा बसेका ज्ञानेन्द्र शाहले राजतन्त्रलाई जोगाउन सकेनन् ।
२०६२-०६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाको सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।
२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी दरबार सरकारले जिम्मा लियो । २०६५ फागुन १५ गतेदेखि नेपाल सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो ।



