झापामा फेरि अर्को जंगली हात्ती मरेको छ । बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको दुई सातापछि झापामा अर्को हात्ती मरेको हो ।

गएराति कमल गाउँपालिका वडा नम्बर–३ मा रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलमा करेन्ट लागेर जंगली हात्ती मरेको हो । जंगली हात्तीले बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो । सुँड र एउटा दारा जली हात्ती घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । कानुनी प्रक्रियाको लागि डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको र घटनास्थलमा सब डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली आइसकेको प्रहरीले जनाएको छ ।
यसअघि गत जेठ ७ गते झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा रैथाने जंगली हात्ती मृत फेला परेको थियो ।
योसँगै यस आर्थिक वर्षमा झापामा तीन वटा जंगली हात्ती मरेको छ । गत फागुन २९ गते कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको थियो । त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय