अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको अस्थायी संरक्षित स्थिति (TPS) कार्यक्रम २०२५ अगस्ट ५ तारिखको राति ११:५९ बजेबाट अन्त्य हुने भएको छ। यसबारे जानकारी अमेरिकी संघीय राजपत्र (Federal Register) मा यसै हप्ताको एक सूचना मार्फत सार्वजनिक गरिएको हो।
गृह सुरक्षा मन्त्रालयकी मन्त्री क्रिस्टी नोएमले नेपालको वर्तमान अवस्था — जस्तै सशस्त्र द्वन्द्वको अन्त्य, वातावरणीय सुधार र समग्र परिस्थितिको मूल्याङ्कनपछि यस्तो निर्णय गरिएको स्पष्ट पारेकी छन्।



TPS कार्यक्रम अन्तर्गत, अमेरिका सरकारले युद्ध, प्राकृतिक प्रकोप वा अन्य संकटग्रस्त देशका आप्रवासी नागरिकलाई अस्थायी रूपमा अमेरिका भित्र बसोबास र रोजगारीको वैधानिक अनुमति प्रदान गर्दै आएको छ। नेपाललाई TPS सुविधा सन् २०१५ मा विनाशकारी भूकम्पपछितत्कालीन राष्ट्रपति बाराक ओबामाको प्रशासनले प्रदान गरेको थियो।
TPS अन्तर्गत हाल अमेरिका भित्र रहेका १४ हजार ५५६ जना नेपाली आप्रवासी प्रत्यक्ष प्रभावित हुने देखिन्छ। उनीहरू TPS अन्त्य भएपछि कानुनी रूपमा अमेरिका बस्न नपाउने स्थितिमा पुग्ने सम्भावना रहेको छ।
अमेरिकामा TPS अन्तर्गत हाल नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका गरी करिब ३ लाख ३७ हजार आप्रवासी रहेका छन्। यी सबै देशका TPS सुविधाको पुनरावलोकन गर्दै अमेरिकाले चरणबद्ध रूपमा कार्यक्रम अन्त्य गर्ने निर्णय लिएको हो।
यस निर्णयप्रति नेपाली आप्रवासी समुदायमा चिन्ता र अन्योल उत्पन्न भएको छ। यद्यपि, मानव अधिकारकर्मीहरू र आप्रवासी अधिकार समूहहरूले यो निर्णय पुनर्विचार गर्न अमेरिकी प्रशासनलाई आग्रह गरिरहेका छन्।



