काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) माथि लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। बिहीबार, युवराज सफलले टंगालस्थित अख्तियारमा मेयर शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।
उजुरीमा मेयर शाहले केही महिनाअघि महानगरपालिकामा करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन जडान गरेको आरोप लगाइएको छ। उजुरीकर्ता सफलका अनुसार, विशेषगरी सो लिफ्ट मेयर शाहकै लागि जडान गरिएको महानगरपालिका स्रोतले जनाएको छ।



सार्वजनिक खरिद ऐनको उल्लङ्घनको आरोप
लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत भएको दाबी गर्दै उजुरीमा यसमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरिएको छ। उजुरीमा भनिएको छ, “सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो।”
छानबिन र कारबाहीको माग
उजुरीकर्ताले अख्तियारसँग काठमाडौँ महानगरपालिकाले जडान गरेको नयाँ लिफ्ट सम्बन्धी टेण्डर, बोलपत्र लगायतका आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचर लगायतका कागजात झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवं भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीमाथि छानबिन प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ। यस विषयमा काठमाडौँ महानगरपालिका र मेयर शाहको तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन।



