पाँचथर – मेची राजमार्गअन्तर्गत फिदिम र हिलिहाङलाई जोड्ने हेवा खोलामा निर्माणाधीन ७० मिटर लामो सिंगल स्पान मोडुलर ब्रिज भाँचिदा तीन जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना मजदुर गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा भारत, पश्चिम बंगालका ४५ वर्षीय विमल राई, ४० वर्षीय राजकुमार राई र ३० वर्षीय सन्त कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ।

 

घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ।
नेपालमा पहिलो पटक यति लामो मोडुलर ब्रिज जडान गर्ने कार्य भइरहेको बेला यो दुःखद घटना भएको हो। पुल वारिपारि जोड्न लाग्दा अप्रत्याशित रूपमा भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन्। बीचमा कुनै सपोर्ट पिल्लरबिना नै निर्माण भइरहेको यो पुलको जडान कार्यमा भारतीय प्राविधिकको समेत संलग्नता थियो। यो घटनाले पुल निर्माणमा संलग्न प्राविधिक टोली र पुल चाँडो बनोस् भन्ने आशामा बसेका स्थानीय बासिन्दामा गहिरो निराशा छाएको छ।

२०८० सालको बर्खामा आएको बाढीले हेवा खोलाको पक्की पुल बगाएपछि यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो। त्यसपछि निर्माण गरिएको बेलिब्रिज पनि २०८१ असोजमा आएको बाढीले बगाइदिएपछि यो मोडुलर ब्रिज निर्माण कार्य सुरु गरिएको थियो। यो पुल निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रको आवतजावतमा ठूलो सहजता आउने अपेक्षा गरिएको थियो ।

अनुसन्धान जारी
दुर्घटनाको विस्तृत कारण अझै खुल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय पाँचथरले घटनाको छानबिनका लागि एक समिति गठन गरेको छ। अधिकारीहरूले घटनाबारे गहन अनुसन्धान भइरहेको र यसले पुर्याएको क्षति तथा आगामी योजनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन्। यस घटनाले नेपालमा ठूला पूर्वाधार निर्माणमा अपनाइने सुरक्षा मापदण्ड र गुणस्तर नियन्त्रणबारे गम्भीर प्रश्नहरू खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय