प्रतिनिधिसभाको आजको (आइतबारको) बैठक सुरु हुनासाथ विपक्षी दलहरूले चर्को विरोध जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सुरुदेखि नै आ-आफ्नो आसनबाट उठेर विरोध प्रदर्शन गरेका थिए।



सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अगाडि बढाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरू सिधै संसद्को वेल (मध्यभाग) घेराउ गर्न पुगेका थिए। उनीहरूले विभिन्न नाराबाजीका साथ विरोधलाई निरन्तरता दिएका छन्।
वेल घेराउ र नाराबाजीका बाबजुद सभामुख घिमिरेले संसद्को कारबाहीलाई भने सुचारु राखेका छन्। सांसदहरूलाई बोल्न दिने क्रम जारी राखिएको छ, जसले गर्दा सदनमा एकातर्फ विरोध र अर्कोतर्फ कार्यसूची अनुसारको छलफल चलिरहेको छ।
विगत केही दिनदेखि विभिन्न मुद्दामा असहमति जनाउँदै रास्वपा र राप्रपाले संसदमा अवरोध पुर्याउँदै आएका छन्। यसअघिका बैठकहरूमा पनि उनीहरूले वेल घेराउ र नाराबाजी गरेका थिए। बजेटमाथिको छलफल लगायतका महत्वपूर्ण कार्यसूची प्रभावित हुँदै आएको छ, यद्यपि सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। सत्तारुढ दल र विपक्षीबीच सहमति हुन नसक्दा संसदका बैठकहरू पूर्ण रूपमा सहज हुन सकेका छैनन्।



