बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ । आइतबार प्रदेश सभामा आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।
मन्त्री काफ्लेले आगामी आर्थिक वर्षमा कर राजश्वबाट २८ अर्ब, ८७ करोड ८२ लाख १ हजार रुपैयाँ आम्दानी गरिने अनुमान प्रस्तुत गर्नुभएको छ । यस्तै अन्य करबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार रुपैयाँ, संघीय वित्तीय हस्तान्तरण ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, विविध आयबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ व्यहोरिने बताउनुभएको छ ।



बागमती प्रदेश सरकार कुन मन्त्रालयलाई कति बजेट ?
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
१,भौतिक पूर्वाधार विकास मन्त्रालय : २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ ।
२,खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय : ७ अर्ब २८ करोड ७१ लाख रुपैयाँ ।
३,कृषि तथा पशुपन्छी विकास मन्त्रालय : २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ ।
४, संस्कृति पर्यटन मन्त्रालय : ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ ।
५,सहकारी तथा गरिवी निवारण मन्त्रालय : २५ करोड ७८ लाख रुपैयाँ ।
६,उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय : ७७ करोड ९६ लाख रुपैयाँ ।
७,श्रम, रोजगार तथा यातायात मन्त्रालय : ८७ करोड ४१ लाख रुपैयाँ ।
८,स्वास्थ्य मन्त्रालय : ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ ।
९, सामाजिक विकास मन्त्रालय : ४ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ ।
१०,युवा तथा खेलकुद मन्त्रालय : १ अर्ब १६ करोड रुपैयाँ ।
११, आन्तरिक मामिला तथा कानुन मन्त्रालय : ६२ करोड ११ लाख रुपैयाँ ।
१२, वन तथा वातावरण मन्त्रालय : ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ ।
यसैगरी बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँटबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक झण्डै ६ घण्टापछि सुरु भएको थियो ।



