काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको बदनाम गरेको बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा सांसद ज्वालाले गणेशमानको नाममा करिब ५७ करोड बजेट विनियोजन भएको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले अनुत्पादक संरचना बनाउने नाममा प्रकाशमानले गणेशमानको बदनाम गराएर मन्त्री सिंहले सबैले सम्मान गर्ने गणेशमान र मंगलादेवीको अपमान गरेको बताउनु हुँदै रोष्ट्रमबाट माफी माग्न आग्रह गर्नुभयो ।



उहाँले शहरी विकास मन्त्रालयले परिभाषाअनुसारको काम नगरेको आरोप लगाउँदै आफ्ना रुचि, आसेपासे र वरिपरिका मान्छेका लागि विभिन्न शीर्षकमा योजनाहरू थुपारिएको उल्लेख गर्नुभयो । उहाँले शहरी विकास मन्त्रालय भरौटेहरूलाई पाल्ने र बिचौलियाहरूले कमाई खाने भाँडो बनाइएको भन्दै ज्यादती र बेथिति भइरहेको दावी गर्नुभयो ।



