पाल्पाको तानसेन नगरपालिका वडा नम्बर–९ मा लिची खेतीले किसानको जीवनमा समृद्धि थप्दैछ। बगैंचामा फलफूल खेती गरेर किसानले लाखौं आम्दानी गरिरहेका छन्। लिची, आँप, कटहरजस्ता फलफूल खेती आम्दानीको दीर्घकालीन स्रोत बन्ने भएकाले किसानको आकर्षण बढ्दो छ।
तानसेन नगरपालिका वडा नम्बर-९ का प्रेमराज पङ्गेनीले ४८ वर्षअघि सुरु गरेको लिची खेती अहिले पनि निरन्तर छ । बगैंचामा ६० वटा लिचीका बोटसहित आँप, कटहर र अमिलोका बोटहरू छन्। पहिले वार्षिक ६ लाखसम्म कमाउने पङ्गेनीले अहिले उमेर ढल्किए पनि बगैंचाबाट साढे एक लाख रुपैयाँ आम्दानी गरिरहनु भएको छ । जवानीमा फलफूलका बिरुवा रोप्दा वृद्धावस्थामा पेन्सनजस्तै आम्दानी हुने किसानको अनुभव छ।



अखर्लेमा कमल पुरीका बगैंचामा ११ वटा लिचीका बोट छन्। ४ वर्षदेखि पुरीले वार्षिक ६० हजार रुपैयाँ आम्दानी गरिरनु भएको छ । बगैंचामै ठेकेदारहरू आउने र फल टिपेर लैजाने भएकाले बजारको कुनै समस्या किसानको अनुभव छ ।
पाल्पा जिल्लामा ५ हजार हेक्टर क्षेत्रमा लिची, आँप लगायतका फलफूल खेती विस्तार भएको छ। कृषि ज्ञान केन्द्रले किसानलाई प्राविधिक सहयोग प्रदान गर्दै फलफूल खेतीलाई प्रोत्साहन गरिरहेको छ। लिचीजस्ता दीर्घकालीन बालीले पाल्पाका किसानलाई आर्थिक समृद्धि र वृद्धावस्थामा सहारा प्रदान गरिरहेको छ। जवानीको लगानीले बुढेसकालमा फल दिने यो खेतीले गाउँघरमा समृद्धिको ढोका खोलिरहेको छ।



