खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोकोको निर्माण गरिएको हो ।
वडा कार्यालयको पाँच लाख रुपैयाँ लगानीमा निर्माण गरिएको खुर्पेटोले इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि थप टेवा पुर्याउनेमा वडाध्यक्ष वसन्त राई ‘पथिक’ बताउनु हुन्छ । उक्त स्थानमा किरात समुदायको बाबु (चिण्डो), हिन्दू धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ ।



गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सद्भाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पुग्ने बताउनु भयो ।
खोटाङकै मूर्तिकारले फाइबर प्रयोग गरी खुर्पेटो निर्माण गर्नुभएको प्रतीक चिह्न आठ फिट अग्लो रहेको छ । खुर्पेटो राखिएको ठाउँमा ६ वटा पाटा बनाएर मगर समुदायको झण्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको छ ।
परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा तीनै तहको सरकारको सहयोगमा निर्माण भएको छ । कुल दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको छ ।
सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।



