मकवानपुरस्थित थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिद प्रक्रियामा अनियमितता देखिएको भन्दै पाँचजना सरकारी कर्मचारी र एक निजी कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित लेखा अधिकृत, इन्जिनियर, सहायक कर्मचारी तथा एक निजी आपूर्तिकर्ता कम्पनीका सञ्चालक संलग्न छन्। पुरी हाल सिरहाको गोलबजार नगरपालिकामा कार्यरत छन्।



आयोगका अनुसार आर्थिक वर्ष २०७८-७९ मा अक्सिजन प्लान्ट खरिदका लागि प्रदेश सरकार र संघीय सरकारबाट करिब १ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर खरिद प्रक्रियामा मनोमानी ढंगले प्रविधिमा मिल्दो नआउने सामग्री छनोट गरी १ करोड १० लाख रुपैयाँभन्दा बढी मूल्यको सम्झौता गरिएको पाइएको हो। मुद्दामा संलग्नहरूमाथि उक्त रकम बराबरको भ्रष्टाचार भएको दाबी गर्दै कैद र जरिवानासमेत माग गरिएको छ।



