तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि स्काइ वाक निर्माण सुरु गरिएकामा अहिले काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको हो । १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्काइ वाक केही दिनभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी भएको छ ।

कूल ५० मिटर अग्लो र ५७ मिटर लम्वाई भएको स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिने र सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले कुनै डर मान्नुपर्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउनु हुन्छ । पृथ्वीराजमार्गसँगै जोडिएको यो ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको छ ।

यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ । डिपिआरअनुसार आयोजना सम्पन्न गर्नका लागि १० करोड रुपैयाँ आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय