प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (LLDC–III) मा सहभागी हुन तुर्कमेनिस्तानको पर्यटकीय शहर अभाजा प्रस्थान गर्न लाग्नुभएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा साउन तेस्रो साता हुने उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल तुर्कमेनिस्तान जान लागेको हो।
भूपरिवेष्ठित विकासशील मुलुकहरूले सामना गरिरहेको व्यापार, यातायात, खाद्य सुरक्षा र पूर्वाधार विकासका चुनौतीबारे छलफल गर्न हरेक १० वर्षमा यो सम्मेलन आयोजना गरिन्छ। यसअघि दोस्रो सम्मेलन सन् २०१४ मा अष्ट्रेलियाको भियनामा सम्पन्न भएको थियो।



एलएलडीसी (Landlocked Developing Countries) अन्तर्गत विश्वभरका ३२ मुलुक आबद्ध छन्, जसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ मुलुक रहेका छन्। नेपाल पनि लामो समयदेखि यस समूहको सक्रिय सदस्य रहँदै आएको छ।
सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओलीले नेपालले भूपरिवेष्ठित मुलुकका हैसियतले भोगिरहेको चुनौती, समावेशी विकास, क्षेत्रीय सहयोग, पारवहन सुविधा तथा व्यापार सञ्जाल विस्तारका विषयमा नेपाल सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीको यस भ्रमणले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका भू–आवद्ध राष्ट्रका समस्या समाधानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, नेपालले पूर्वाधार, यातायात सञ्जाल, पारवहन तथा व्यापार सहजताको क्षेत्रमा थप सहयोग र लगानी जुटाउन आग्रह गर्ने तयारी समेत गरेको छ।



