काठमाडौं । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश ल्याइने भएको छ ।
बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै ल्याउन लागिएको हो । चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो ।



भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा.राणाको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो ।



