पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ ७८ लाख रुपैयाँ घुस प्रकरणमा बयान दिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भएकी छिन्। आयोग स्रोतका अनुसार श्रेष्ठ बुधबार बिहान अख्तियारको मुख्य कार्यालय पुगेर बयान दिएकी हुन्। कास्की जिल्लाको भूमि समस्या समाधान आयोगका अध्यक्ष र मालपोत कार्यालय प्रमुखको सरुवासम्बन्धी प्रक्रिया अगाडि बढाउने क्रममा ७८ लाख रुपैयाँ घुस लेनदेनको प्रयास भएको अडियो सार्वजनिक भएपछि अनुसन्धान तीव्र बनाइएको हो। अडियोमा पूर्वमन्त्री श्रेष्ठको समेत आवाज रहेको आशंकामा अख्तियारले भ्वाइस टेस्ट स्वर परीक्षण सहित विस्तृत सोधपुछ गरेको हो।

यसै प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले केही दिनअघि राजीनामा दिएका थिए। उनले मंगलबार अख्तियारमा उपस्थित भएर भ्वाइस टेस्ट गराइसकेका छन्। घटनामा संलग्न रहेका भनिएका बिचौलिया सुजन लामाले पनि अघिल्लो हप्ता नै बयान र भ्वाइस परीक्षण दिइसकेका छन्।

अख्तियार स्रोतका अनुसार, सार्वजनिक अडियो क्लिपको आधारमा प्रमाण संकलनको काम भइरहेको छ। सो क्रममा राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरूको संलग्नता अनुसन्धानको दायरामा ल्याइएको हो। पूर्वमन्त्री श्रेष्ठको अडियो परीक्षण रिपोर्ट र अन्य संकलित प्रमाणको अध्ययनपछि थप कारबाहीको ढोका खुल्न सक्ने जनाइएको छ। अख्तियारले यस प्रकरणमा राजनीतिक पहुँच र प्रभाव प्रयोग गरेर प्रशासनिक सरुवा प्रक्रिया प्रभावित पार्ने प्रयास भएको आशंका गर्दै अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय