झापाको दमक नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा ६० वर्षीय साइकल यात्री सोमबहादुर विकको मृत्यु भएको छ।
दमक–४, घरघरेका विकलाई बिहान करिब ६:४५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक–४ चियाबगान नजिकै, उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका विकलाई तत्काल दमक अस्पताल पुर्याइए पनि बिहान साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव हाल दमक अस्पतालमै राखिएको छ।



दुर्घटनामा संलग्न बस र बसका चालक मकवानपुर हेटौडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



