ढीले मोटरेवल पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेकाहुन । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावा खोलाको अस्थायी मोटरेबल काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । यस्तै मर्कामा गएराति फक्ताङलुङ ६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उद्धार गरेका छन् ।

स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार करिब ३ घण्टा निरन्तर बोकेर गाडी सञ्चालन हुने क्षेत्रसम्म पुर्याएर बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । लेलेपको लुङथुङदेखि तापेथोकको ताम्मावाखोलासम्म बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ । बेलुकी साढे ८ बजे बिरामीलाई बोकेर हिँडेको टोली करिब मध्यराति १२ बजेमात्र गाडीको सुविधा भएको ठाउँ ताम्मावाखोलामा पुरइएको थियो ।

गाउँमा रहेको करिब १५ जना युवाको समुहले महिलालाई बोकेर मध्यराति गाडी भएको स्थलसम्म पुर्याएका थिए । बिरामी पुर्याएर फर्किएका समुह अहिले बिहान ७ बजेमात्र घरगाउँ पुगेको स्थानीय शेर्पाको भनाई छ । स्थानीयका अनुसार बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा खाद्यान्न लगायतको सामाग्री समेत बोकेर लानुपर्ने बाध्यता रहेको छ । भूगोल हिसाबले जिल्लाको सबैभन्दा ठुलो पालिका फक्ताङलुङ गत वर्ष पनि सबैभन्दा धेरै प्रभावित बन्दा ४ जना मानिसले ज्यान समेत गुमाएका छन् । यसवर्ष बाढीले नै फक्ताङलुङ गाउँपालिकाको थाक्पाखोलाको काठेपुल र माइक्रोहाइड्रोमा क्षति पुर्याएका छ । जसका कारण अझै पनि सयौँ परिवार विद्युत सेवाबाट बञ्चित भएका छन् । जसको निर्माण कार्य जारी रहेपनि सम्पन्न हुन अझै महिनौँ दिन लाग्ने स्थानीयले बताएका छन् ।

यता बाढीले पुल बगाएर सदरमुकाम फुङलिङसँगको सडक सञ्जाल टुटेकाले पालिकामा निर्माणधीन जलविद्युत आयोजनासँग समन्वय गरि तत्काल मर्मत गर्ने योजनामा रहेको पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (बिकास)ले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमका कारण मर्मतको कार्य प्रभावित भएकाले ढिलाई भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय