काठमाडौं । आज विश्व बाघ दिवस । हरेक वर्ष जुलाई २९ का दिन पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । त्यही मञ्चले पहिलो पटक विश्व बाघ सम्मेलन गरेको थियो । नेपालमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ वटा रहेको छ ।
नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएको छ ।  नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा अहिले बहस सुरु हुन थालेको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गर्दै आएका छन् ।
नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमताको विषयमा मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्ववन्यजन्तु कोष नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डनलगायत संस्थाले अध्ययन गरिरहेका छन् । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् ।
सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय