प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताउनुभयो । राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । ओलीले सरकारलाई भ्रष्टाचारको पर्यायका रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ भएको जिकिर गर्दै सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताउनुभयो ।



यस्तै उहाँले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताउ भययो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको बताउनु भयो ।
उहाँले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताउनु भयो । उहाँले व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रीत रहेको उल्लेख गर्दै नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देश बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रूपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पार्नुभयो ।



