काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिन लाग्नुभएको छ । पार्टी सभापति शेरबाहदुर देउवा र हालै संसदीय दलको नेतामा चुनिएका इन्द्र बानियाँसँग छलफल भएपछि लामाले आज पदबाट राजीनामा दिन लाग्नुभएको हो ।
शनिबार बुढानीलकण्ठमा भएको छलफलमा मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त गरेका तीनजना मन्त्रीलाई सपथ गराउने, लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने र मुख्यमन्त्रीले राजीनामा गर्ने सहमति भएको थियो ।लामाले कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहनुभएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गर्नुभएको थियो । लामाले राजीनामा दिएपछि बागमती प्रदेशमा बानियाँ मुख्यमन्त्री हुनुहुनेछ ।



सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि भएको सहमतिअनुसार अब बन्ने मुख्यमन्त्री बानियाँले ८ महिना मात्र सरकार सञ्चालन गर्ने छन् । त्यसपछि एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।



