सिरहा – सिरहाको नरहा गाउँपालिका–१, देविपुरमा नव-निर्मित दुईतले आधुनिक स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। मधेश प्रदेशका जनस्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहले औपचारिक रुपमा उद्घाटन गरेका हुन्। १० कोठे यो भवन मधेश प्रदेश सरकारको जनस्वास्थ्य मन्त्रालयबाट ५० लाख र नरहा गाउँपालिका–१ वडाबाट ५२ लाख, गरि कुल १ करोड २ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। कार्यक्रममा वडाध्यक्ष अशोक यादवले भने, यो स्वास्थ्य चौकीले वडाका देविपुर, गौराहा, तिलासी, मुसहरी साथै वरपरका गाउँका नागरिकलाई गुणस्तरीय सेवा दिन सक्षम हुनेछ।अध्यक्ष यादबले भने, हामीले स्थानीय स्तरमा धेरै समयदेखि स्वास्थ्य सेवा अभावको सामना गर्दै आएका थियौं। अब यो भवन सञ्चालनमा आएपछि स्थायी सेवा सुविधा पुग्नेछ।



जनस्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहले उद्घाटन समारोहमा बोल्दै भने,प्रदेश सरकारको उद्देश्य नागरिकको घर नजिकै स्वास्थ्य सेवा पुर्याउने हो। यो भवन प्रदेश र स्थानीय सरकारको सहकार्यमा सम्पन्न भएको उदाहरण हो। अब यहाँबाट मातृ तथा शिशु स्वास्थ्य, सामान्य उपचार, खोप सेवा लगायतका सेवा सहज रुपमा उपलब्ध हुनेछन्। उद्घाटन कार्यक्रममा स्थानीय रामेश्वर महतो र पन्चलाल महतोले खुसी व्यक्त गर्दै भने,अब बिरामी लिएर टाढा जानुपर्दैन, गाउँमै उपचार हुने भएपछि हामीलाई ठूलो राहत मिलेको छ। यो भवन निर्माणले हामी गरिब जनतालाई जीवन बाँच्ने आशा दिएको बताए ।



