काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आउँदो साउन २९ गते बिहीबारबाट सुरु हुने मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थी सहभागी हुने छन् ।
२०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि मौका परीक्षा दिइएको हो । ०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालयका ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए । बोर्डले फाराम भरेका नियमित र ग्रेडबृद्धि गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यही साउन २९ गते अनिवार्य अंग्रेजी, संस्कृत-वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा-अनिवार्य अंग्रेजी परीक्षा हुने छ । साउन ३० गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अन्य भाषा विषयको परीक्षा हुनेछ । साउन ३१ गते अनिवार्य गणित सञ्चालन हुनेछ । भदौ १ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत-वेद विद्याश्रमतर्फ शुक्लयजुर्वेद-सामवेद- ऋग्वेद-अथर्ववेद-नीतिशास्त्र अनिवार्य विज्ञान तथा प्रविधिलगायत विषयका परीक्षा सञ्चालन हुनेछ ।
२०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भएका थिए ।



