विराटनगर:कृष्ण जन्माष्टमीको अवसरमा आज (आइतबार) विराटनगरमा भब्य रथयात्रा निकालिँदैछ । हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ ।

रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ ।

रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।

१९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यो वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ।

यस पटकको रथ पहिलोको भन्दा उचाइ, चौडाइ र लम्बाइमा बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका बुट्टाहरू कुँदेर बनाइएको छ । स्वदेशी र विदेशी कालिगडहरूले यस पटक रथ बनाएका छन् ।
शनिबार कृष्ण मन्दिरहरूमा हिन्दु धर्मावलम्बी र भगवान् श्रीकृष्णका भक्तजनहरूले विशेष पूजा आराधना गरी जन्माष्टमी पर्व धूमधामका साथ मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय