प्रदेश नम्बर ३ अन्तर्गत हेटौंडा बजारमा निर्माण सम्पन्न भएको वृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन अब छिट्टै सञ्चालनमा आउने भएको छ। प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उक्त भवन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन्। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय भ्रमणका क्रममा मन्त्री श्रेष्ठले भवन निर्माणको मूल उद्देश्यअनुसार नै आवश्यक कार्यविधि निर्माण गरी भवनलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन्। उनले भवन सञ्चालनका लागि छिट्टै कार्यदल गठन गर्ने पनि जानकारी दिइन्।



“जनताको प्रत्यक्ष सरोकार रहने यस्ता पूर्वाधार समयमै सञ्चालनमा नआउँदा उद्योगी र व्यवसायी मर्कामा परिरहेका छन्,” मन्त्री श्रेष्ठले भनिन्, “प्रदेशभर निर्माण भइसकेका कोसेली घर तथा अन्य प्रदर्शनी केन्द्रहरू पनि अब शीघ्र सञ्चालनमा ल्याइनेछन्।” उक्त भवन सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रवर्द्धन, बजार पहुँच विस्तार तथा घरेलु उद्योगमा संलग्न व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। विशेषगरी स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको प्रदर्शनी, विक्री तथा प्रचार–प्रसारमा यो भवनले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले हालैका वर्षहरूमा कोसेली घर, घरेलु तथा लघु उद्योग प्रवर्द्धन केन्द्र लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको छ। यद्यपि, समयमै ती पूर्वाधार सञ्चालनमा नआउनु सरकारको कार्यान्वयन पक्षमा प्रश्न उठ्ने गरेको छ। मन्त्री श्रेष्ठको निर्देशनसँगै अब ती पूर्वाधारले आफ्नो उद्देश्य अनुसार काम गर्न सक्ने आशा गरिएको छ।



