डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले वाक एण्ड एक्ट अभियान सञ्चालन गरेको छ । वर्षायाममा डेंगुको बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै महानगरले एक दिने विशेष सचेतना अभियान सञ्चालन गरेको हो । महानगरपालिका स्वास्थ्य विभाग र नगर कार्यपालिकाको कार्यालय, बागमती प्रदेशको आयोजनामा सचेतनामूलक कार्यक्रम बिहान राष्ट्रिय सभागृहबाट शुरु भएको थियो ।




महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने कार्य गर्दै आएको छ । सो कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले सचेतना बढाउने उद्देश्यले महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणको लागि अभियान संचालन शुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि साउन महिनालाई डेंगु रोग सचेतना महिनाको रूपमा मनाउने निर्णय गरेको थियो ।



