काठमाडौं । चन्द्रागिरि नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नं. १ देखि १५ सम्मका वडा सचिवहरुले आ–आफ्नो वडाले आर्थिक वर्ष २०८१-०८२ मा सम्पादन गरेका विकास निर्माण तथा सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले वडा कार्यालय भनेको नगरपालिकाका पहिलो ऐना भएको बताउनु भएको छ । उहाँले वडाबाटै राम्रो सेवा भएमा नगरपालिका त्यसै राम्रो हुने भन्दै जति समस्यासँग जुध्यो त्यति नै अनुभवि र कार्य क्षमता बढ्ने दाबी गर्नुभयो । प्रमुख गिरीले नगरपालिकालाई कुन दिशामा लैजाने कर्मचारीको प्रमुख हात हुने हुँदा आफूलाई सक्षम सावित हुने गरी काम गर्न सुझाव दिनुभयो । वडा सचिवहरुले प्रशासनिक कुरामा गुनासो पोखेपछि उहाँले समस्या समाधान गर्ने पहिलो जिम्मा वडा अध्यक्षहरुकै भएको तर उहाँहरुले समाधान गर्न नसेके ऐन, कानुन र नियमसम्मत् आफूले २४ घण्टाभित्रै समस्या समाधान गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । प्रमुख गिरीले नगरपालिकालाई डिजिटल प्रविधिमा लाने काम अन्तिम चरणमा पुगेकाले त्यो पूरा गर्ने चुनौतिको सामना गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।

यस्तै, उपप्रमुख बसन्ती श्रेष्ठले चन्द्रागिरि नगरपालिकालाई सुशासन कायम गर्न कर्मचारीहरुको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले नगरपालिकाका जतिपनि योजनाहरु पूर्णरुपमा सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले वडाले आयोजनाहरुको अनुगमन गरेपछि नगरमा गुनासो नआउने वातावरण बनाउन वडाअध्यक्षहरुलाई आग्रह गर्नुभयो । उहाँले गलत गर्नेलाई आफूले जहिल्यै गलत भन्ने र गलत काम गर्नेको योजना रोक्ने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले वर्षेनी समीक्षा कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमबाट के लिने र के सिक्ने भन्ने आफूमा निर्भर हुने बताउनुभयो । उहाँले वडाहरुमा बढेको सम्बन्ध विच्छेदका घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले बढ्दो सम्बन्ध विच्छेदले समाजमै एउटा विकृति देखिएको भन्दै यस्ता समस्याहरुको पहिचान गरी समाधान खोज्न कर्मचारीहरु र जनप्रतिनिधिले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रवक्ता खड्गीले विकास निर्माण गर्नु ठूलो कुरा नभएको तर संरक्षण गर्नु प्रमुख चुनौति रहेको बताउनु भयो ।

कार्यक्रममा १५ वटै वडाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, शाखा प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय