स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले अटिजमको उपचार र रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन बुझाउँदा मन्त्री पौडेलले प्रारम्भिक चरणमा प्रत्येक प्रदेशमा एक–एक वटा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको हो । उहाँले यसलाई दीर्घकालीन परियोजनाका रूपमा अघि बढाइने जानकारी दिनुभयो। काठमाडौंको बुढानिलकण्ठ–४ मा अटिजम स्कुलको भवन निर्माण प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले यसका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ महानगरपालिकाले पनि यसमा चासो देखाएकोले समन्वयमा काम गरिनेछ।



नेपालमा हालसम्म अटिजम भएका बालबालिकाको आधिकारिक तथ्यांक स्पष्ट छैन। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ४ हजार ८ सय ८६ जनामा अटिजम पहिचान भएको छ। तर विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक सय जनामा एक जनामा अटिजम देखिने भएकाले नेपालमा करिब ३ लाख व्यक्तिमा यो समस्या रहेको अनुमान गरिएको छ। अटिजम स्नायु विकाससम्बन्धी समस्या हो जसमा विशेषगरी बालबालिकाको सञ्चार क्षमतामा अवरोध देखिन्छ। अटिजम भएका बालबालिकाले अरूको वास्ता नगर्ने, आँखामा आँखा नजुधाउने, उमेरअनुसार बोल्न नसक्ने र केही व्यवहार बारम्बार गर्ने जस्ता लक्षण देखिन्छन्।



