नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन पाउने अधिकार संविधानले नत रोक्ने नत खुला रूपमा उल्लेख गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, संविधानमा स्पष्ट रूपमा न पाइन्छ भनिएको छ, न पाइन्न भनिएको छ। त्यसैले यसबारे गहिरो अध्ययन आवश्यक छ।
हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको गतिविधिमा देखिएकी छन्, यद्यपि पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। उता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन्। पत्रकारले संविधानको औचित्यमाथि प्रश्न उठाउँदा देउवाले भने, “संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ, त्यसका लागि दलहरूबीच छलफल भइरहेका छन्। दुई तिहाइ जुटेपछि प्रक्रिया अगाडि बढ्न सक्छ।” उनले वर्तमान सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिने विषयमा कुनै निर्णय नभएको पनि स्पष्ट पारे।






