ललितपुर, ६ भदौ २०८२ — कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको घटनापछि आज बिहान ललितपुरको हरिसिद्धिमा सडक अवरुद्ध भएको छ। शनिबार बिहान करिब ७ बजे मन्त्री मगर ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान अधिवेशनमा सहभागी हुन जाने क्रममा को १ झ ६९९ नम्बरको गाडीले बाटो काट्दै गरेकी उषा सुनारलाई ठक्कर दिएको हो। बालिका ठक्करबाट घाइते भइन् भने गाडी घटनास्थलमा नरोकीकन अगाडि बढेको स्थानीयको भनाइ छ।
घटनापछि आक्रोशित स्थानीयवासीले गाडी नरोकेको भन्दै सडक अवरुद्ध गरे। उनीहरूले न्याय र जिम्मेवारी माग गर्दै प्रदर्शन गरेका थिए। केही समयसम्म यातायात सेवा प्रभावित भएको थियो। ठक्करबाट घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको र डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्र वरीष्ठ उपरीक्षक श्याम अधिकारीले जानकारी दिए।



एसएसपी अधिकारीका अनुसार पीडित परिवार र स्थानीयवासीसँग वार्ता गरी सडक खुलेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।
उषा सुनारको परिवार ललितपुरमा डेरा गरी बस्दै आएको छ। पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको जानकारी प्राप्त भएको छ।



