काठमाडौं । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणलाई शान्त रहन र सुरक्षामा सहकार्य गर्न अपिल गरेको छ।




सेनाले जानकारी दिएअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ। त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको मूल्याङ्कनपछि थप जानकारी सार्वजनिक गरिने पनि सेनाले जनाएको छ।
विज्ञप्तिमा आन्दोलनको आडमा अराजक तत्वले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा तथा बलात्कार प्रयासजस्ता गतिविधि गर्ने सम्भावना रहेको उल्लेख छ। यस्ता गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षाको वातावरण कायम राख्न निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको स्पष्ट पारिएको छ।



