काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेसँगै जेनजी आन्दोलनमा संलग्न युवाहरू भर्चुअल छलफलमा जुटेका छन्। डिस्कोर्ड प्लेटफर्ममा ३२ सयभन्दा बढी युवाले आन्दोलनपछिको बाटो, नेतृत्व संरचना र वार्तामा लैजानुपर्ने एजेन्डाबारे व्यापक बहस गरिरहेका छन्।

यसबीच आन्दोलन र अराजक घटनाले देशभर गम्भीर परिस्थिति सिर्जना भएको छ।

महाराजगञ्जस्थित प्रहरी वृत्तमा तीन सुरक्षाकर्मीको ज्यान गएको छ। सिंहदरबारमा भएको आगजनीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको भए पनि सम्पूर्ण तथ्यांक सुरक्षित रहेको सरकारी निकायले जनाएको छ। सर्वोच्च अदालतका केही तथ्यांक हेटौँडास्थित डिजास्टर रिकभरी (डीआर) केन्द्रमा सुरक्षित राखिएको छ।

कारागारहरूमा पनि ठूलो क्षति पुगेको छ। प्रारम्भिक तथ्यांकअनुसार १७ जिल्लाका जेलमा तोडफोड र आगजनी हुँदा हजारौं कैदी फरार भएका छन्। सुनसरीस्थित झुम्का कारागारबाट मात्रै १,५७५ कैदी भागेका छन् भने काभ्रे जिल्ला कारागारमा समेत आगजनी भएपछि सेना परिचालन गरिएको छ। भागेका मध्ये २६ कैदीलाई नियन्त्रणमा लिइएको छ।

लुटपाट र हिंसात्मक घटनाहरू पनि बढिरहेका छन्। राजधानीस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, अराजक गतिविधि नियन्त्रणका क्रममा नेपाली सेनाले काठमाडौंसहित विभिन्न स्थानबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।

यसबीच गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटिएको छ भने गंगा दाहालको घरमा जलेको अवस्थामा शव फेला परेको छ।

सुरक्षाको चाप र बढ्दो अशान्ति नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।

देशभर सुरक्षाकर्मी तैनाथ गरिए पनि आन्दोलनपछिको मार्गचित्र अझै अस्पष्ट छ। जेनजी युवाहरूको भर्चुअल बहस र राष्ट्रपति–सेनाको वार्ता आह्वानले आगामी राजनीतिक समाधानबारे केही आशा भने जगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय