काठमाडौं । देशको परिवर्तित अवस्थालाई मध्यनगर गर्दै चन्द्रागिरि नगरका स्थानीय जागरुक भएका छन् । जेनजीले गरेको प्रदर्शनपछि उत्पन्न लुटपाटका घटना बढ्न थालेपछि त्यसको न्यूनिकरणको लागि स्थानीयहरुले आफ्नो सुरक्षा आफै गरौं भन्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ का यूवा समेटेर अधिवक्ता पुरुषोत्तम उदासको नेतृत्वमा ११ सदस्यीय महादेवस्थान सुरक्षा तथा जागरण समूह गठन गरेको छ ।




उदासको संयोजकत्वमा गठन भएको समुहले आज तीन वटै वडामा वडा स्तरीय सुरक्षा तथा जागरण समूह गठन गरेको छ । स्थानीयले हालको परिस्थितिलाई उत्पन्न समस्या न्यूनिकरण गर्दै सामाजिक जीवनका अप्ठ्याराहरु समाधान गर्नुका साथै शान्ति, सु–व्यवस्था कायम गर्दै जिउ, ज्यान तथा सम्पत्ति, सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले गठन गरिएको समूहका संयोजक अधिवक्ता उदासले जानकारी दिनुभयो । उहाँले ५ नम्बर वडामा मनोज महर्जनको संयोजकत्वमा २१ सदस्यीय समूह, वडा नम्बर ६ मा रजी बलामीको संयोजकत्वमा ११ सदस्यीय समूह र वडा नम्बर ७ मा लालबहादुर क्षत्रीको संयोजकत्वमा ११ सदस्यीय समूह गठन भएको जानकारी दिनुभयो ।

संयोजक उदासले अब प्रत्येक टोल टोलमा पनि समूह गठन गर्दै लैजाने योजना भएकोले आ–आफ्नो टोल समुदायको सुरक्षामा सचेत भईदिनको लागि सबैलाई आग्रह गर्नुभयो ।



