काठमाडौं, भदौ २८ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा रास्वपासँगको सम्बन्ध समाप्त भएको जानकारी दिएकी हुन्।



श्रेष्ठले लेखेकी छन्
“अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडें।” उनको यो अभिव्यक्तिले पार्टीभित्रको गहिरो असन्तुष्टि र मतभेद प्रस्ट पारेको देखिन्छ। यद्यपि उनले पार्टी छाड्नुको ठोस कारण भने खुलाएकी छैनन्। श्रेष्ठ केही समयदेखि पार्टी नेतृत्वप्रति आलोचनात्मक देखिएकी थिइन्। खासगरी पार्टीको नीति निर्धारण प्रक्रिया, निर्णयमा पारदर्शिता अभाव र व्यक्तिगत स्वार्थ आधारित सत्ता समीकरणहरू प्रति उनी असन्तुष्ट रहेको जनाइएको थियो।
उनी शिक्षामन्त्रीका रूपमा कार्यरत रहँदा शिक्षा सुधार र सुशासनका विषयमा स्पष्ट अडान लिएर चर्चामा आएकी थिइन्। तर, मन्त्री पदबाट हटाइएपछि पार्टीभित्रको उनको भूमिकामा धुमिलता आएको थियो। श्रेष्ठको पार्टी परित्यागबारे अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर, उनको निर्णयले पार्टीभित्रको अन्तरद्वन्द्व थप गहिरिएको विश्लेषण गरिँदैछ। विश्लेषकहरूका अनुसार सुमना श्रेष्ठजस्ता विचारशील नेताको बाहिरिने क्रमले रास्वपाको आन्तरिक संरचना र नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ।



