काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पार्नुभएको छ । दसैँका अवसरमा पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमा युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरिएको छ ।

सन्देशमा पूर्वराजा शाहले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताउनु भएको छ । सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवम् चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको पूर्वराजा शाहको भनाइ छ । कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु पर्नेमा पूर्वराजाले जोड दिनुभएको छ ।

पूर्वराजा शाहले नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा, सद्भाव आदान–प्रदान गरिने दसैँ पर्वको शुभ अवसरमा नेपालभित्र र नेपाल बाहिर रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय