काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधि चाडबाडमा पनि व्यस्त देखिएका छन् । वडाको गौरबको योजनाअन्तरगत रहेको संसारी मन्दिरदेखि महाँकाल मन्दिरसम्म जानको लागि निर्माण गरिएको सिढी फोहोर भएपछि कार्यवहाक वडाअध्यक्ष उमाकुमारी थापा, वडा सदस्य भुवनकुमार केसी, ournewscrew को टीम, स्थानीयबासीसहितले सरसफाई गरेका छन् ।




नेपालीहरुको महान चाड बडादशैंमा स्थानीयहरुको आस्थाको केन्द्र महाँकाल भैरव मन्दिरमा पूजाआजा गर्न जाँदा सहज होस् भन्ने उद्देश्यले सिढी सरसफाई गरिएको वडा सदस्य केसी बताउँछन् । सरसफाईमा स्थानीयले पनि चासो दिएको तर चाडबाडका कारण धेरै स्थानीय सरसफाईमा उपस्थित हुन नसकेकोले आफुहरु नै सरसफाईमा जुटेको कार्यबहाक वडा अध्यक्ष थापाको भनाई छ ।

संसारी मन्दिरबाट महाँकाल मन्दिरसम्म पुग्नको लागि हालसम्म उक्त सिढीलाई करिब १ करोड रुपैयाँ बजेट खर्च भईसकेको छ । जसअन्तरगत प्रदेशबाट २५ लाख, वडाको गौरबको आयोजना अन्तरगत ५० लाख र विभिन्न शीर्षकमा गरी लगभग १ करोड खर्चको लागतमा सिढी निर्माण भएको जनप्रतिनिधिहरुले जानकारी दिएका छन् ।

करोडौंको लगानीबाट बनेको संरचना फोहोर हुँदा समाज र वडालाई नै प्रश्न उठ्ने भएकोले आफुहरुले नै चाडबाड नभनी सरसफाई गरेको उहाँहरुको भनाइ छ ।






