काठमाडौं । रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाका विभिन्न स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रोशी गाउँपालिका वडा नं १ र २ खहरेपाँगु र शिखरआम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उहाँहरुलाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि त्यस स्थानमा बस्न जोखिम हुने भएकाले नक्केल डाँडा, फलामेसाँघु, नारायणटार लगायतका स्थानका करिब ३० परिवारका १५० जनालाई शनिबार साँझबाटै विद्यालयमा राखिएको हो । रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् ।

बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिकाको भवनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ र ३ को सीमानामा रहेको बस्तीका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा रानाले त्यस क्षेत्रका खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सीमाधारा, सयले र बनेपालीटोल गरि ७० परिवार सुरक्षित स्थानमा सारिएको बताउनु भयो । उहाँले सबैजनालाई मुक्तेश्वर सामुदायिक भवनमा राखिएको जानकारी दिनुभयो । उहाँले अन्य वडाका जोखिममा रहेका बस्तीहरुलाई पनि सुरक्षित रहन आग्रह गर्नुभयो ।

दुर्लुङ्ग खोलामा आएको बाढी खलङ्गा बस्तीमा पसेको थियो । वर्षाका कारण पट्नेखोला र दुर्लुङ्ग खोलामा पानीको बहाब बढेर पालिका भवन सम्म आइपुगेको पालिकाले जनाएको छ ।

त्यस्तै अविरल बर्षको कारण ढुंखर्क–खोपासी–पनौती सडक अवरुद्ध भएको छ । बेथानचोक २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाका अनुसार पार्थली, खड्केचौर, बगर लगायतका ठाउँहरूमा पहिरो गएको र लेदो आएकोले सडक पूर्ण रुपमा बन्द भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय