काठमाडौं । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केष्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट हुन पुग्यो ।
नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीयबीच भनाभन भयो । सामान्य विवादले उग्र रुप लियो । विवाद गर्ने दलित परिवारलाई बस्तीबाटै उठाइदिने धम्की समेत दिइयो । धम्की आएपछि दलित परिवार जिउधनको सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुग्छन् ।



प्रहरीले विवाद समाधान गर्न गत असोज १२ गते छलफलका लागि डाक्छ । त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रबार दिउँसो करिब २ बजेतिर २०–२५ जनाको समूहले दलित बस्ती नै तहसनहस पारिदिन्छ ।
उक्त समूहले पाँचवटा दलितका घरमा तोडफोड र लुटपाट गर्छन् । लुटपाट र तोडफोड हुँदा केही प्रहरी जवान घटनास्थलमै हुँदा पनि केही नगरेको पीडित बताउँछन् । अशोक पासमानको घरबाट ४ आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै ४ आना सुन, १० तोला चाँदीका गहना र १८ हजार रुपैयाँ र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, २ आना सुन र ३ हजार रुपैयाँ लुटिएको पीडितहरु बताउँछन् ।
यस्तै खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैंचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पुर्याइएको छ । पीडित राजकुमारले अहिले पाँच परिवारका ३० जना अलपत्र अवस्थामा रहेको बताएका छन् ।
घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख घटनास्थल पुगेर स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गर्नुभएको थियो ।
बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष यादवले भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
यस्तै पीडित परिवारलाई नगरपालिकाले प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।



