चन्द्रागिरि, कात्तिक २४ गते – चन्द्रागिरि नगरपालिका र पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चन्द्रागिरि नगर कार्यसमितिको संयुक्त पहलमा आज बिहान नागढुङ्गादेखि कलंकीसम्मको राजमार्ग खण्डमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। राजमार्ग सरसफाइ अभियान बिहान ७ बजेबाट सुरु भई ९ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नगर प्रहरी, पूर्व सुरक्षाकर्मीहरू, स्थानीय जनसमुदाय तथा चन्द्रागिरि नगरपालिकाभित्र क्रियाशील विभिन्न फोहोर व्यवस्थापन समितिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अभियानको उद्देश्य नगर क्षेत्रको सरसफाइमा टेवा पुर्याउनुका साथै नागरिकहरूमा वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनप्रति सचेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाहरूले जनाएका छन्। कार्यक्रमको दौरान राजमार्गका छेउछाउमा रहेको फोहोर संकलन गरिनुका साथै प्लास्टिकजन्य तथा अन्य अव्यवस्थित फोहरहरू व्यवस्थित रूपमा हटाइएको थियो। चन्द्रागिरि नगरपालिकाका प्रमुखले यस्तो प्रकारका अभियानहरूले सरसफाइमा मात्र नभई सम्बन्धित सुरक्षा निकाय, संस्थाहरू र नागरिकबीचको सहकार्य तथा एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।






