काठमाडौं । ओखलढुंगामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आव २०८२÷८३ को हालसम्ममा सो संख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ ।
गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।
नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।






